Artists/Songs


रंगमञ्चदेखि सानो र ठूलो पर्दाको अभिनयसँगै निर्देशनको अपूर्व संगम अनि जीवनको ६ दशक पार गरिसकेको सुखद र आदर्श कलाकार दम्पती । अभिनेता तथा रंगकर्मी हरिहर शर्मा र अभिनेतृ तथा रंगकर्मी शकुन्तला गुरुङ शर्माको दम्पती । करिब ५ दशकदेखि रंगमञ्च हुँदै सानो र ठूलो पर्दाको फिल्ममा सशक्त र प्रभावकारी अभिनय गर्दै आउनुभएका कुशल अभिनेता एवं रंगकर्मी हरिहर शर्मा र साढे ५ दशकदेखि रेडियो र रंगमञ्चीय नाटकमा अभिनय तथा गीत गायन र रेडियो कार्यक्रम उद्घोष गरी सानो र ठूलो पर्दाको चलचित्रमा वजनदार अभिनय गर्दै आउनुभएकी शकुन्ता गुरुङ शर्माको कलाकार दम्पती रंगमञ्च र चलचित्रको पर्दामा मात्र नभई वास्तविक जीवनमा पनि आदर्श जोडीका रूपमा चिनिनुहुन्छ ।

सँगसँगै अभिनय यात्रा गर्दै आएको यो दम्पतीले रंगमञ्चदेखि टेलिचलचित्र, भिडियो चलचित्र र ठूलो पर्दाका चलचित्रमा अभिनय कलामार्फत यो विधाको उन्नयन र समृद्धिका लागि पथ प्रदर्शकको कार्य गर्दै आएको छ भने अभिनय कलाको उत्कृष्ट नमुनासमेत प्रस्तुत गर्दै आएको छ । साथसाथै अभिनय प्रशिक्षण र तालिम प्रदान गरेर अभिनयका विद्यार्थीसमेत तयार पार्दै आएको छ ।

कुरा २०३० सालतिरको हो शकुन्तला गुरुङ रेडियो नाटक र रूपक तथा रेडियो उदघोषणबाट ठूलो नाम बनिसक्नुभएको थियो । हरिहर उहाँको आवाज र रेडियो नाटय अभिनयको फ्यान हुनुहुन्थ्यो । २०३० सालमा तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा शकुन्तला नाटक कलाकारका रूपमा काम गरिरहेका बेला हरिहर शर्माको पनि कलाकारकै रूपमा त्यहाँ प्रवेश भयो । परिचय र सहकार्य सुमधुर प्रेममा परिणत हुन पुग्यो । २०३३ सालमा उहाँहरुबीच लगनगाँठोसँगै सहकार्यको बलियो गाँठो पनि बाँधियो । २ छोरा र १ बुहारीका धनी शर्मा दम्पती अहिले पनि अभिनय यात्रामा उत्तीकै सक्रिय भई यो क्षेत्रमा योगदान पुर्याइरहनुभएको छ ।


२०११ साल जेठ २० गते प्यूठानमा जन्मिनुभएका अभिनय क्षेत्रका धरोहर हरिहर शर्माले रंगमञ्च र टेलिचलचित्र तथा भिडियो चलचित्रमा अभियनका साथमा नाटक र टेलिचिलचित्रको निर्देशनसमेत गर्नुभएको छ । स्नातक गर्नुभएका उहाँले अभिनय र निर्देशनका साथमा प्रशासन क्षेत्रमा पनि उल्लेख्य अनुभव सँगाल्नुभएको छ भने हालको सांस्कृतिक संस्थान, राष्ट्रिय नाचघरको निर्माणको श्रेय पनि उहाँलाई नै जान्छ । २०२६ साल अर्थात् १५ वर्षको कलिलो उमेरदेखि निरन्तर यही क्षेत्रमा समर्पित रहँदै आउनुभएका शर्माले २०५३ सालदेखि २०६३ सालसम्म अर्थात् १० वर्षसम्म सांस्कृतिक संस्थानमा महाप्रबन्धकका रूपमा सेवा गर्नुभएको थियो भने २०६४ देखि २०६६ सालको अन्तसम्म नेपाल प्रज्ञा प्रतिष्ठानको सचिवको रूपमा प्रशासनिक सेवा गर्नुभएको थियो । उहाँ २०३० सालदेखि प्रतिष्ठानकै नाटक कलाकार तथा नाटक निर्देशक हुँदै प्रशासन प्रमुखको रूपमा काम गरी सेवा निवृत्त हुनुुभएको थियो ।

थुपै नाटक, संंगीत तथा चलचित्रसम्बन्धी प्रतियोगिताहरुमा निर्णायकको जिम्मेवारी पूरा गर्दै आउनुभएका उहाँले आमाको सपना, जीवन बीमा, बहुला कहिंका, अन्धाको पनि आँखा खुलेको हुन्छ, अन्तरद्वन्द्व, पृथ्वीनारायण शाह, एक सीमा यही टुंगिन्छ, मानिस र मुकुण्डो, जब घाम लाग्छ, पुरानो घर, गंगालालको चिता, समाजका नाइकेलगायत ५ दर्जन जति नाटकमा आफ्नो उत्कृष्ट अभिनय क्षमता प्रस्तुत गर्नुभएको छ । त्यसै गरी जब घाम लाग्छ, अनि सपना व्युझन्छ, पहाड चिच्याइरहेछ, सन्त्रास र जिन्दगी, नेपाल भाषाका कुलां चकनितिनी, किसी न्याइम्ह मदनमान, किपालु लुना च्वम्ह मनुलगायत ३ दर्जन नाटकको निर्देशन गर्नुभएको छ । खास गरी वासुदेव चलचित्रबाट आफूलाई अब्बल उभिनेताका रूपमा प्रमाणित गर्नुभएका उहाँले सिन्दुर, बदलिँदो आकाश, माया–प्रीति, कर्जा, प्रेमपिण्ड, चेली बेटी, प्रियसी, सन्तान थरी थरीका, मोहनी, यो मायाको सागर, चट्याङ, ज्वाला, धनपतिलगायत दर्जनौं फिल्मका विभिन्न भूमिकाबाट दर्शकको मन जित्दै आउनुभएको छ भने लालपुर्जा र अमेरिका ब्वाइमा पनि अभिनय गर्नुभएको छ । जनैको साँचो, सम्बन्ध, मृगतृष्णा, एक झिल्का आगो, अन्धाको पनि आँखा खुलेको हुन्छ जस्ता टेलिचलचित्रबाट पनि उहाँले अभिनयप्रेमीलाई मोहित तुल्याँदै आउनुभएको छ । एभरेस्ट फिल्म कलेजमा अभिनय पढाउँदै आउनुभएका उहाँ अभिनयकर्मबाटै विभिन्न अवार्डका साथमा गोरखा दक्षिणबाहु, त्रिशक्ति पट्ट, इन्द्र राज्यलक्ष्मी प्रज्ञा पुरस्कार, सर्वनाम पुरस्कार, प्रज्ञा प्रतिष्ठान दीर्घ सेवा पदक, डबली पुरस्कार, बालकृष्ण सम सम्मान, सांस्कृतिक संस्थान सम्मान, राष्ट्रिय प्रतिभा पुरस्कारलगायतका मान पदवीबाट विभूषित तथा सम्मानित हुनुभएको छ ।


त्यसै गरी २००८ साल मंसिर ३० लाजिम्पाटमा जन्मिनुभएकी शकुन्तला गुरुङ शर्मा २०१९ सालमा ११ वर्षकै उमेरदेखि नै नाटयकर्ममा होमिनुभएको थियो । पलाँसको फूल नामक नाटकबाट अभिनय कर्म शुरु गर्नुभएकी उहाँले २०२३ सालदेखि २०३८ सालसम्म रेडियो नेपालमा रेडियो नाटक कलाकारका रूपमा सेवा गर्नुभएको थियो भने २०२६ सालदेखि २०६६ सालसम्म तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा नाट्य कलाकार एवं नाटक निर्देशकको रूपमा काम गरी सेवा निवृत्त हुनुभएको थियो । उहाँले पलाँसको फूल, वीरकुश, कीर्तिपुरको युद्ध, च्यात्तिएको पर्दा, फर्केर हेर्दा, पहाड चिच्याइरहेछ, दोभान, मुटुको व्यथा, कृषिवालालगायत ८० भन्दा बढी नाटकमा अभिनय गर्नुभएको छ भने लौरो लौरो, अन्धवेग, सबैभन्दा छोटो नाटक, विष्णुमाया, मसान, किराँतार्जुनीय व्ययोग, किसमिसको बिस्कुनजस्ता नाटक निर्देशन गर्नुभएको छ ।

२०२२ सालदेखि २०३४ सालसम्म सयभन्दा बढी नाटक तथा रूपकमा स्वराभिनय गर्नुभएको उहाँले बदलिँदो आकाश, वासुदेव, हिजोआज भोलि, माया–प्रीति, चोखो माया, चेलिबेटी, जीवनरेखा, सन्तान थरी थरीका, मेरो लभ स्टोरी, संकल्प, क्लासिक जस्ता फिल्मका विभिन्न भूमिकाबाट दर्शकलाई मोहित तुल्याँदै आउनुभएको छ । सम्बन्ध, अन्धाको पनि आँखा खुलेको हन्छ, मृगतृष्णा जस्ता टेलिचलचित्रबाट पनि दर्शकलाई मोहित बनाउँदै आउनुभएको उहाँले अभिनयकर्मको माध्यमबाट प्रबल गोरखा दक्षिण बाहु, इन्द्रराज्य लक्ष्मी प्रज्ञा परस्कार, सर्वनाम परस्कार, बालकृष्ण सम पुरस्कार, बालकृष्ण सम सम्मान, राष्ट्रिय प्रतिभा पुरस्कार, हरितारा चलचित्र पुरस्कार, राष्ट्रिय कलाश्री पुरस्कार, नेपाल संगीत तथा नाटय राष्ट्रिय पज्ञा पुरस्कार जस्ता विभूषण, मान पदवी, सम्मान र पुरस्काबाट सम्मानित हुनुभएको छ ।

रंगमञ्चदेखि सानो र ठूलो पर्दाको अभिनयसँगै निर्देशन विधाबाट नेपाली कला र चलचित्रको अभिनय क्षेत्रमा योगदान पुर्याएबापत यस वर्षको कलातर्फको कीर्तिमय दीर्घ योगदान सम्मान (लाइफटाइम अचिभमेन्ट अवार्ड) २०७४ हरिहर र शकुन्तलाको दम्पतीलाई संयुक्तरूपमा प्रदान गरिएको छ । यसअघि यो सम्मानबाट अभिनेता तथा गायक हरिप्रसाद रिमाल र लेखक तथा निर्देशक लक्ष्मीनाथ शर्मालाई सम्मानित गरिएको थियो ।

श्रद्धेय अभिनय साधकद्वय

श्री हरिहर शर्मा तथा
श्रीमती शकुन्तला शर्माज्यू,
नेपाली अभिनय क्षेत्रको धरोहर तपाईंको दम्पतीले ५ र साँढे ५ दशकदेखि रंगमञ्च तथा चलचित्र अभिनय, निर्देशन र अध्यापनसमेतमा अनवरत साधना गरी यस क्षेत्रको उन्नयनमा अतुलनीय योगदान पुर्याउनुभएको छ । यसैले यहाँहरू कलायात्राका संघर्षनायक, अनुजका प्रेरणा स्रोत र पथप्रदर्शक बन्नुभएको छ ।
नेपाली रंगमञ्च र चलचित्र क्षेत्र यहाँको योगदानबाट अनुगृहित छ । यसको उच्च कदर गर्दै सीजी इन्टरटेनमेन्टको प्रस्तुति लक्स कामना फिल्म अवार्डस् २०७४ अन्तर्गत १ लाख रुपियाँ नगदका साथ यस वर्षको कीर्तिमय दीर्घ योगदान सम्मान (लाइफ टाइम एचिभमेन्ट अवार्ड) २०७४ यहाँहरुलाई संयुक्तरूपमा समर्पण गर्न पाउँदा हामी अत्यन्त गौरवान्वित भएका छौं । यहाँले कोर्नुभएको मार्ग सबैका लागि अनुकरणीय हुने विश्वास लिएका छौं ।

पुष्करलाल श्रेष्ठ, प्रधान सम्पादक,
कामना न्युज पब्लिकेसन्स्
वसन्त चौधरी, अध्यक्ष, सीजी इन्टरटेनमेन्ट

Comments!