Artists/Songs


लक्स कामना फिल्म अवार्डस् २०७४ मा हरेक वर्ष जुरीलाई मन परेको फिल्म, कलाकार वा निर्देशकलाई जुरी अवार्ड प्रदान गरिँदै आएको छ । यस वर्ष जुरी अवार्ड फिल्म डाइङ क्याण्डल (निभ्न लागेको दियो)लाई प्रदान गरिएको छ ।

हरेक प्रतिस्पर्धात्मक विधाका लागि यसै क्षेत्रसँग सम्बन्धित हस्ती तथा संघसंस्थासँगको बृहत् छलफलपश्चात् तयार पारिएको मापदण्डका आधारमा मूल्यांकन गरिने कामना फिल्म अवार्डस्मा निर्णायक समितिलाई एकैपटक सरप्राइजका रूपमा अवार्ड समारोहमा परिचय गराउने गरिएको छ ।

यस वर्ष कामना फिल्म अवार्डस्का लागि निर्णायकहरू थिए गीतकार, फिल्म सम्पादक तथा एनिमेटर करुण थापा, गायक, संगीतकार, अभिनेता तथा निर्देशक किरण प्रधान, रंगकर्मी, लेखक तथा निर्देशक अशेष मल्ल, लेखक तथा निर्देशक लक्ष्मीनाथ शर्मा । निर्णायक संयोजक थिए रंगकर्मी तथा अभिनेता हरिहर शर्मा । कार्यक्रम सञ्चालक नरेश भट्टराईले परिचय दिँदै जाँदा निर्णायकहरू मञ्चमा पुगे । किरण प्रधान भने देशबाहिर रहेकाले समारोहमा उपस्थित हुन सकेनन् ।

‘परम्परागत शैली र चलिआएको पद्धतिभन्दा अलिकति भिन्दै गएर बनाइएको चलचित्र हो डाइङ क्यान्डल । यो चलचित्र साँच्चै नै हेर्न लायक छ, हामीलाई मन प¥यो । तपाईंले हेर्नुभएको छैन भने हेर्नुहोस्, तपाईंलाई पनि मन पर्छ’ डाइङ क्यान्डललाई जुरी अवार्ड प्रदान गरिनुको कारण प्रस्ट पर्दै निर्णायक संयोजक हरिहर शर्माले समारोहमा भने । जुरी अवार्ड सो फिल्मका निर्माता तथा छायांकार रवीन आचार्यले ग्रहण गरेका थिए । यो अवार्ड निर्णायक समितिले नै प्रदान गरेको थियो ।

रवीन आचार्य अवार्ड ग्रहण गर्न ३ पटकसम्म मञ्चमा उक्लिएका थिए । उनले छायांकारको अवार्ड चुमेका थिए भने जुरी अवार्डसँगै बालकलाकार लाक्पा सिंघे तामाङको अवार्ड ग्रहण गर्न पनि उनी नै मञ्चमा गएका थिए । जोमसोमका लाक्पा अवार्ड ग्रहणका लागि काठमाडौं आउन नसकेकोले उनको अवार्ड पनि आचार्यले उचालेका थिए ।

रवीन आचार्य
मनोनयन ः फिल्म र छायाकार (डाइङ क्यान्डल)
विजयी विधा ः जुरी अवार्ड र छायाकार
अवार्डअघि ः यदि जुरीहरूले साँच्चै कला र सिर्जनालाई ध्यानमा राखेर अवार्ड दिन लागेको हो भने डाइङ क्यान्डलले नै उत्कृष्ट फिल्मको अवार्ड जित्छ । सिनेमाटोग्राफरको कुरा गर्दा र डाइङ क्यान्डलको स्टोरी सेन्स हेर्दा याज अ सिनेम्याटोग्राफर डाइरेक्टरले पोट्रे गर्न खोजेको कुरालाई मैल इमेजमा उतार्न सकेको छु । त्यस कारण सर्वोत्कृष्ट छायाकारको अवार्ड पनि डाइङ क्यान्डलले नै पाउनुपर्छ ।

अवार्डपछि ः जब मैले सिनेमाटोग्राफर र डाइङ क्यान्डलले जुरी अवार्ड जितें, हामीले गरेको कामको उद्देश्य पूरा भयो । हामीले गरेको कामलाई एउटा वर्गले सम्मान गरी कामको मूल्याङ्कन गर्दा अझ पनि राम्रो काम गर्ने हौसला मिलेको छ । हाम्रो डेडिकेसन मर्न पाएन ।

Comments!